katha

https://www.blogger.com/profile/02417054825487972766

जुलुसको पछिल्लो मान्छे

नवीनबन्धु पहाडी

विद्यालयका सुरुआति दिनहरु कम्ता रमाइला थिएनन् हरिप्रसादका ! आमाले नियमित रुपमा कहिले बोक्दै,कहिले हात समाएर ताते ताते गराउँदै ठूलो चौतारा  मुनीको विद्यालयसम्म छाड्न  र लिन जाने हर्षका नियमितताहरुमा बितेका थिए, आमाका ती दिनहरु । बालकका अघि पछि लाग्दै सुलुलु बितेका आमाका रमाइला यामहरु उनको कल्पनाको स्वप्निल संसार थियो ,भविष्यको मीठो सुगन्ध थियो र त्यसैले दिएको थियो, बाँच्ने जीवनको उर्जा पनि ।

       ती दिनहरुमा आमाका कम्ता काम थिएनन् ,चटारोले दिने सधै असारको पन्ध्रजस्तो हतारोमा तिनले बाँच्नु परेको थियो ।दुई,दुई दुहुना भैंसी,हलगोरु,८,१० बाख्रा पाठाहरु, दुईचारमुरी बीऊलाग्ने अब्बल खेतमा सदाबहार लाग्ने बाली र खेतालाहरुलाई खाजापातको जिम्मेवारीमा पनि उनी कहिल्यै चुक्दिन थिइन् । यी सबै भ्याएर पनि उनलाई हरिप्रसादको सुसुर्को नै प्यारो थियो । घरखेत,बाख्रापाठा हलीगोठाला,घाँसपात सबैको हेरचाह गरिभ्याएर पनि उनी कान्छो छोरालाई लिन पु–याउन आफैं पुग्थिन्,चौताराछेउको विद्यालयसम्म ।

  चौडा निधार,उज्यालो वर्ण,टम्म मिलेका दाँतका पङ्ति,मिजासिलो,मधुरवाणीको बालक पनि रहरलाग्दो र आमाकै जस्तो रुपलावण्यले धनी थियो । छरछिमेक र इष्टमित्रहरुमाझ त्यो बालक दृष्टान्तकै पात्र थियो । सबैले भन्ने गर्थे छोरा त यिनले पाएकै हुन् नि । सन्तान हुनु त हरिप्रसादजस्तो । सबैले यसो भनिदिंदा आमाको मन फुलेर सयपत्रीजस्तो नाच्दथ्यो, अहिलेका सारा दुःखका पहाडहरु बिर्सन्थिन् ।सबैको प्रशंसा र आँखाको नानी बनेको बालकलाई एकान्तमा अनेकबार काखमा लिएर छातीमा टाँसेरै थाक्दिन थिइन् उनी । बालक आमाको मायामा निथ्रुक्क भिजेर निदाइदिन्थ्यो ,आमाका आँखाहरु अनायसै अज्ञात खुशी ,आशा,निराशा कुन्नि के के हो दिलभरी भएर पोखिन्थे । उनको आँसु किन बग्थे उनैलाई पत्तो हुँदैनथ्यो । कहिले कहिले त छातीमा निधाएको त्यही बालक उठेर मसिना हातहरुले आमाका चिसा आँखा पुछ्न थाल्थ्यो त्यतिबेला तिनको आँसु झनै किन हो कुन्नि नथामिइकन बगिरहन्थ्यो बगिरहन्थ्यो ।

      यस्तो लाग्थ्यो कि संसारका सबै भाषाहरु मान्छेका मनका संवेदना हर्ष,पीडा,दुःख,सन्तुष्टि,असन्तुष्टिहरु ओकल्न समर्थ छैनन्  ।सबै उमेर र सबै कुनाका मान्छेले जान्ने र बुझ्ने  एउटै भाषा  आँसु हो । ती अबोध दुई प्राणीले आँसु बगाएर गरेका बात बडो विचित्र जस्तो लाग्थ्यो जहाँ पत्थर भए पनि पग्लन्थ्यो र भगवान भएपनि आँसुले भिज्थे सायद ।

    मनका कुहरदेखि कति कति दिनका भन्न नसकेर जमेका मातृ हृदयका उकुसमुकुसहरु पखालिएपछि  मन छ्याङ्ग हुन्थ्यो र आमा अनेक उर्जा बोकेर घर व्यवहारमा मेशिन भएर खट्थिन् ।

     कामकै चटारोहरुको बीच बीचमा पनि हरिप्रसादलाई उनी भन्ने गर्थिन् —बाबु छोरा धेरै पढ्नु पर्छ है ,मेरो हरि हाकिम बन्नु पर्छ ।

       हरिप्रसाद  उमेरको उकालो दिन दिन चढ्दै गयो ,जति जति उमेरको उचाइ बढ्दै जान्थ्यो आमाको हाकिमी सपनाको शब्दांश दोहोरिंदै जान्थ्यो । हरिप्रसादलाई आमाको सपनाले निकै प्रेरणा दिएको थियो ।

     तिनताका आमाको पाखुरामा बल प्रशस्त भरिएजस्तो लाग्दथ्यो । जेठो छोराले पढ्न पाएन । माहिलो कर्मकाण्डकै पढाइका लागि बनारसतिर लागेको थियो । उसले उस्तो जाँगर लगाएजस्तो थिएन । आमाको सपना यही कान्छो छोरामा अडिएको थियो ।

समय अडिंदैन यो एकनाश रहँदैन पनि, बिस्तारै सबैथोक बदलिंदै जान्छ । समयको बेगसँगै हरिप्रसादले विद्यालयको शिक्षा पूरा ग–यो,आमाले मनभरि सपनाका कोसेलीहरु पोको पारेर सहर पठाइन्, उसले पनि आमाका आशीष पोल्टाभर थापेर मन लगाएर पढ्यो । राजधानीको त्रिचन्द्र कलेजको पसिरभर उसले जताततै आमाका स्नेहालु हातहरुको स्पर्श र प्रेमिल बचनहरु सुनेजस्तो भान हुन्थ्यो । वात्सल्यको तिर्खा र आशीर्वादको प्रेरणाले उसको स्नातक पनि सकियो । त्यसपछि भने उसलाई जतिबेला पनि आमाको “बाबु पढेर ठूलो हाकिम बन्नू ” यस वाक्यले निकै लखट्न थाल्यो । दिन रात बिर्सेर ऊ लोकसेवाको तयारीमा जुट्यो ।

हरिप्रसादले त्यस बर्ष बागबजारको लोक सेवा तयारी कक्षामा पनि निकै मेहनतले पढ्यो ,खरिदारदेखि अधिकृतसम्मका सबै परीक्षा दियो ।उसको  स्नातक सकिएको त्यो बर्ष निकै व्यस्तता र उग्र तयारीमै बित्यो ।हुलाकसेवा  देखि राजश्व,परराष्टसम्मका सबै समूहमा परीक्षा दिएको हरिप्रसादलाई सामान्य प्रशासन सेवाको अधिकृत परीक्षामा भने नाम निस्कन्छ भन्ने निकै विश्वास थियो । सबै किसिमका परीक्षा सकेरमात्र ऊ आमाको संझनामा विभोर भएर घर फर्कियो ।

   घर पुगेर पनि उसमा बेचैनी उस्तै थियो । प्रत्येक बुधवार,विहीबारको गोरखापत्र खोज्न गाउँ विकास समितिको कार्यालयसम्म जानु ,नभए सदरमुकाममै पुग्नु सम्मका दिनचर्यामा ऊ आशालु भएर बाँचेको थियो ।

  २०५५ साल भाद्र बुधबारको गोरखापत्र  हात पर्नासाथ उसले पहिला राशीफल पढ्यो । त्यहाँ बिद्यामा सफलता देखेपछि कता कता उसको मनमा खुम्चिएको खुशी एक्कासी छरिएजस्तो भयो र हतार हतार वीचको पृष्ठमा पल्टाएर लोकसेवाको सूचना पढ्नथाल्यो । सामान्य प्रशासन सेवाको अधिकृत परीक्षाको नतिजा नं तीनमा लेखिएको हरिप्रसाद पढ्न उसलाई निकै बल प–यो ,दोहो–याइ तेहे–याइ पढेपछिमात्र उसको धित म–यो र खुशीको विष्फोटक उमंगले झण्डै चिच्याएको थियो ।

उसले थाहा नै पाएन कि कतिबेला गएर नजिकैको मिठाइ पसलमा लड्डु किन्यो  र आमालाई नसोधिकन मुखमा हालिदियो । आमाले अनुमानै गर्न सकिनन् कि छोरा आज यतिविध्न खुशी किन भैरहेछ । एकोहोरो भएर छोराको अनुहार पढिरहेकी आमालाई बिचार गर्ने मौकै नदिइ उसले भन्यो —थाहा छ आमा अब तिम्रो छोरा तिमीले भनेजस्तै हाकिम भयो ।

अब फेरि आसु झार्ने पालो आमाको थियो ।सन्तानको सफलतामा आमाको जति सन्तुष्टि सायद कसैलाई पनि हुँदैन । आमाले गोठमा गोबर सोहरेकै हातले छोरालाई छातीमा टाँसिन् र निधारमा अमूल्य चुम्बनले लाखौंलाख आशीष खन्याइन् ।

हरिप्रसाद त्यसैदिन सहर गयो र केहीदिनमा खाइलाग्दो अड्डाको हाकिम पनि भयो । हाकिम भएपछि सहरका लोभलाग्दा नानीहरुको छड्के आँखाहरुले हरिप्रसादलाई निकै लखट्न थाले निकै समय तर्सियो ,भाग्यो र छलिरह्यो तर कतिञ्जेल ? आखिर ऊ पनि त मान्छे थियो । बिस्तारै बिस्तारै पछिलाग्ने केहीजोर आँखाहरुबाट एउटा छानेर जीवन बिताउने निर्णयमा पुग्यो । आमालाई समेत झिकाइ पशुपतिमा सानो विधि पु–याएर आफ्नो विद्यार्थी कोठामै भित्र्यायो ।आमा गाउँमै फर्किइन् ।

  यतिञ्जेल हरिप्रसाद आमाको थियो, आमासँग हरिप्रसादप्रति कुनै अपेक्षा थिएन ,कुनै महत्वाकाँक्षा थिएन ,आमाको त मात्र आशिर्वाद थियो । अब त हरिप्रसाद आमाको भन्दा ज्यादा श्रीमतीको श्रीमान थियो ।त्यसैले उसका आवश्यकताहरु दिन दिन सगरमाथा जस्तै चुलिन्थे । कोठाको जीवन साँगुरो भएर फ्ल्याट लिनुप–यो, मोटरसाइकल,स्कुटर, घर घडेरीका अनेक गृहपुराणले उसको आमाको आँसु सिञ्चित रसिलो छाती बिस्तार बिस्तार पत्थर बन्दै थियो र अफिसका फाइलहरुमा कताबाट लामोहात गर्न सकिन्छ ? कताबाट आफ्ना असिमित महत्वाकांक्षाहरुमा मलम लगाउन सकिन्छ भन्ने चिन्तनहरुमा ज्यादा केन्द्रित हुनथाल्यो । एकपछि अर्को गर्दै आवश्यकताहरु पनि थपिन्थे र पूरा हुने उपायहरु पनि निस्किरहन्थे ।

यसै बीच समयले निकै कोल्टे फेरिसकेको थियो ,उसको  पहाड घर र आमाको बीचमा पनि निकै निकै दरारहरु परिसकेका थिए ।

      बानेश्वरमा उसको नयाँ घरमा सर्ने पूजाआजाको कार्यक्रम थियो ।आज कसोकसो आमालाई पनि निकै कर गरेर उसले झिकाएको थियो । सहरका उसको शान सौकत र रवाफ देखेर आमा पक्कै खुशी हुन्छिन् भन्ने उसले ठानेको थियो तर आमा त्यहाँ आएदेखि नै किन किन उदास र निराश देखिथिन् ,किन किन उनलाई त्यो आफ्नै छोरा हरिप्रसाद हो र ? हो र ? जस्तोमात्र लागिरह्रयो ,भित्र धुमधामले शंखघण्टाको साथमा गृहप्रबेशको मूहुर्त भैरहेको थियो । पूजाकक्षमा अगणित धनराशीको बीचमा लक्ष्मीको बिशाल मूर्ती थियो ।

   अकस्मात् दृष्य बदलियो ,सादा पोशाकमा केही अपरिचत मान्छेहरुको जुलुश देखापरे, हेर्दाहेर्दै पूजाकक्षमा वेदीहरु खान्तलासीमा परे, पण्डितहरु र आफन्तहरुले बरामदीमुचुल्कामा सहीछाप गरे । एउटा शोकमग्न जुलुश सेतो घर कम्पाउण्डबाट बाहिरिएको दृष्यले आमाको आँखामा ठूँगिरह्यो । जुलुशको पछिल्लो मान्छेलाई आमाका आँखाले ठम्याउन खोजे, आज आमाका आँखा किन किन सुख्खा भइरहे ,आँसु  बगेनन् । अनुत्तरित प्रश्नले आमालाई लखट्न थाल्यो जुलुशको पछिल्लो मान्छे मेरै छोरा हो र !

अक्षर आवास धादिङ्बेसी

डा. नविनबन्धु पहाडी (दाहाल)

0 comments:

Post a Comment

 

नविनबन्धु पहाडी (दाहाल) का साहित्यिक चौतारी