फूलकुमारीकाे आसु
सहरभन्दा बाहिर एउटा सानाे काठ र खरले बनेकाे घर थियाे । घर निकै सानाे तथा खरले छाएका हुनाले देख्नेहरु छाप्राे भन्ने गर्थे । त्यस घरमा आमाछाेरी बस्थे । छाेरीकाे नाम फूलकुमारी थियाे । आमाकाे नाम के थियाे कुन्नि ! चिन्नेहरुले भने "फूलकुमारीकी आमा " भनेकाे सुनिन्थ्याे । फूलकुमारी फूलजस्तै सुन्दरी थिइन् । उनकाे स्वर सुस्वादु थियाे । व्यवहार नरम र मिजासिलाे थियाे । कसैकसैले उनलाई देव बाला पनि भन्थे ।फूलकुमारीका बाबा उनी जन्मेकाे केही महिनामा नै बिदेश गएका थिए । चार वर्ष भयाे । न खबर गरे, न फर्केर नै आए। उनकाे अत्ताेपत्ताे भएन । फूलकुमारीकी आमाले मेलापात ज्याला मजदुरी गरेर घर चलाइरहिन्। फूलकुमारीकी बुढी हजुरआमा थिइन् । उनले भान्सामा जे थियाे पकाएर खान दिन्थिन र फुलकुमारीकी आमालाई अलि काममा हाेलाे खुकुलाे थियाे । उनकाे पनि एकवर्ष अगाडि निधन भएपछि उनलाई जीवनमा अझै अतेस र अझै कठिनता आइपरेकाे थियाे ।
जङ्गलकाे छेउमा भएकाे घर उसै पनि डराइमर्नु हुने रहेछ । कहिले जङ्गली जनावर र कहिले डढेलाे घरै नजिक आइपर्ने हुँदा ज्यान जुनबेला पनि जाेखिममा पर्ने नै भय थियाे । हजुरआमा हुनुहुन्थ्याे र पाे चलाखसँग छाेरीलाई हेर्नुहुन्थ्याे । अब त आमाले फुलकुमारीलाई काममा लिएरै जानुपर्ने भाे । घरमा ताल्चा मारेरै हिड्नुपर्ने भयाे ।
फूलकुमारीकी आमा जसकाे घरमा ज्याला मजदुरी गर्न जान्थिन् छाेरीलाई त्यही घरमा राखेर काम गर्थिन् । बिहानदेखि साँझसम्म उनी काममा दलिएकी हुन्थिन् । उनी साहु महाजनका घरमा लुगा धुने,घर लिपपाेत तथा घाँसपातकाे पनि काम गरिदिन्थिन् । साहु महाजनका छाेराछाेरी राम्रा पाेशाक लगाउँथे,झाेला भिर्थे , पानीका बाेतल ,मिठा मिठा,खाजाका बट्टाहरु बाेक्थे । राम्रा राम्रा जुत्ता टल्काएर विद्यालय जान्थे । फूलकुमारी हेरिरहन्थिन् । उनलाई यिनीहरु कहाँ गएका हाेलान् जस्ताे लाग्थ्याे । विद्यालयबाट फर्केपछि राम्रा राम्रा किताब फिंजाएर काेही पढ्ने ,काेही लेख्ने गर्थे । उनी तिनीहरुलाई एकटकले हेर्थिन् । स्वर निकालेर दुई एकान् दुई .......... क,ख,ग,घ...........१,२,३,४,अ,आ,इ,ई भनेका गुञ्जन उनकाे कानमा अनौठाे किसिमले पस्थ्याे । तिनलाई पनि सुनेकै भरमा कण्ठ हुन्थ्याे । लहडै लहडमा घरमा पनि भनिरहन्थिन् । गुनगुनाइरहन्थिन् ......... दुई एकान् दुई.....
...... क माने कछुवा ख खरायाे .....आदि आदि ।
उनी काम गर्ने गाउँकाे माझमा एउटा विद्यालय थियाे । त्यसमा प्रशस्त विद्यार्थी अध्ययन गर्न जान्थे । गाउँदेखि बाहिरकी फूलकुमारी मात्रै विद्यालय पढ्नबाट वञ्चित थिइन् ।
साहुसाहुनीका छाेराछाेरीले पढेकाे सुनेरै साक्षर भइन् फालेका कापी कलम टिपेर लेख्न,पढ्न थालिन् ,
मान्छेभित्रै देवताकाे बास हुन्छ र मान्छेभित्रै राक्षस पनि हुन्छ । असल र सत्कर्मले मान्छे देवताकाे तहमा उक्लन्छ र अरुलाई रुवाउने,पीडा दिने र बदनामी गराइदिने ,अरुकाे दुःखकाे आसु देखेर खुसी हुने मान्छेलाई राक्षस भनिन्छ । फूलकुमारीका जीवनमा पनि राक्षस स्वभावका मान्छेहरुले दिनु दु:ख पनि दिए भने देवताहरु जस्ता दयालु मान्छेहरुले जीवन बदलिदिए ।
उनकी आमा काशीमायाकाे घरमा कपडा धुने,घर पुछ्ने,भाँडावर्तन माझीदिन गइरहन्थिन् र काशीमायाले उनलाई मासिक अलिकति आर्थिक सहयाेग गर्थिन् । कहिले,कहिले अन्न अनाज पनि दिन्थिन् ।
एकदिन फूलकुमारीकी आमा काशीमायाकाे घरमा भाँडा माझ्न र लुगा धाेइदिन गएकी थिइन् । उनले फूलकुमारीलाई पनि सँगै लगेकी थिइन् । आमा जुठेल्नामा भाँडावर्तन सफा गर्दै थिइन् । फूलकुमारीकाे हातमा कतै भेटिएकाे पुरानाे कापी थियाे र सिसाकाे टुक्रा पनि थियाे । आँगनीमा थाेत्राे गुन्द्रीमाथि बसेर उनले राम्रा ,राम्रा अक्षरले आमाकाे नाम लेखिन् । आफ्नाे नाम पनि लेखिन् ,
काशीले फूलकुमारीलाई साेधिन् " तिमी स्कुल जाने गरेका छौं ?"उनीले छैन भन्ने आशयले मुन्टाे हल्लाइन् । यतिबेला तिनकाे निर्दाेष अनुहारमा याचना थियाे कि, अथवा भनाैं निरीहता के पग्लिरहेकाे थियाे कुन्नि ? काशीमाया पनि त्यहीँ पग्लिइन् । विद्यालयकाे मुख कहिल्यै नदेखेकी फूलकुमारीका यति राम्रा अक्षर ? यस्ताे मिहिनेत ?
उनलाई ताजुब लाग्याे । उनका सन्तान थिएनन् र भाइकाे सानाे छाेरा ल्याएर पालेका थिए । उनले पालित पाेषित गरेकाे बालक दुई वर्ष लगातार कक्षा लिंदा पूरा कखहरा उप्काउन सकेका थिएनन् । यहाँ यी बालिका जसले कहिल्यै कक्षाकाेठा देखिनन् तिनकाे कस्ताे तीर्खा ? उनी दङ्ग परिन् । यिनले पढ्न सकिन् भने साँच्चिनै राम्राे गर्छिन् जस्ताे लागेर उनलाई विद्यालय पठाउने रहर गरिन् । काशीमायाले फूलकुमारीकी आमालाई बाेलाएर भनिन् " हेर त फूलकुमारीकी आमा यिनले पाठशाला नै नदेखे पनि कति राम्रा अक्षर काेरेकी छिन् ! अक्षर फुटाएर पाठ घाेक्न पाएकी भए कस्ती हुँदी हाे ? यस्तालाई हाे बाबै स्याहार गर्ने । तँ यसलाई भर्ना गरिदे फूलकुमारी । यसकाे खर्च बरु म भरिदिन्छु । म तँलाई सहयाेग गर्छु ।
फूलकुमारीकी आमाले जवाफ दिई " दिदी ! यहाँ पेट भर्नकै लागि दस दैला कुर्नु परेकाे छ । जुठा भाँडा मस्काउन परेकाे छ । कसरी पाठशालाकाे खर्च जुटाउनु ? भर्ना हालेपछि लाउन राम्रै दिनुपर्छ , खाजा पठाउनु पर्ला । कापी कलम टुटाउन भएन । कसरी धानिएला र ? भाे बरु एउटाकाे दैलाे पाेत्ली खाली । "
"त्यसाे भन्नू हुन्न बाबै । जतिसम्म सकिन्छ आँखा देखाइदिम्न । " काशीमायाले भनिन् ।
नभन्दै काशीमायाले भाेलिपल्ट लगेर फूलकुमारीलाई भर्ना गरिदिइन् ।अब फूलकुमारीकाे दैनिकी पनि फेरिने भाे । सधैं विद्यालय जान पाउने भई । उसकाे फुर्फुर अर्कै थियाे । फूलकुमारीले विद्यालमा चमत्कारै गरेजस्ताे प्रतिभा देखाउन थालिन् ।
कक्षा एकमा नै प्रथम भइन् । केही शिक्षकहरुकाे प्राेत्साहन गर्थे भने केहीमा स्वभाविक मानवजन्य ईर्ष्या पनि देखिन्थ्याे । प्रत्येक वर्ष वार्षिक परीक्षा र अन्य जिल्लास्तरीय प्रतियाेगिताहरुमा पनि प्रथम भएर पुरस्कृत भइरहिन । जिल्ला तहका वक्तृता, वादविवाद, चित्रकला सबैतिर उनकाे सहभागिता चमत्कारजन्य हुन्थ्याे ।
एक धनी व्यापारीका छाेरी पनि त्यही कक्षामा पढ्ने थिइन् । उनकाे नाम मनसा थियाे । उनी महङ्गा लुगाकपडा लगाएर आउँथिन् । फूलकुमारीका कपडा थाेत्रा र च्यातिएका हुन्थे । ती कपडा पनि देखि नसहेर च्यातिदिन्थिन् । आफूले ल्याएका मिठा मिठा पुरी,तरकारी,जेरीजस्ता मिठाईहरु फुलकुमारीलाई देखाइ,देखाइ खान्थिन् । सकेसम्म लाेभ्याइरहन्थिन् । यस्ता माग्नेका सन्तानलाई के थाहा र यसकाे स्वाद भनेर परिवारलाई पनि नानाभाँति भन्थिन् । उनलाई अरु कुरा भन्दा उस्ताे चित्त दुख्दैनथ्याे बाबालाई छाेएर यी माग्नेकी छाेरी भनेपछि सहिनसक्नु हुन्थ्याे र रुन्थिन् । उनकाे रुवाइ देखेर सम्झाउनेहरु पनि हुन्थे र रमाउने गिज्याउनेहरु पनि हुन्थे ।
कुनै दिन फूलकुमारी बसेकै बेञ्चमा बस्ने संयाेग परेकाे खण्डमा " याे झुत्री बसेकाे बेञ्चमा बस्नु हुँदैन " भन्दै अर्काे बेञ्चमा जान्थिन् । कापी च्यातिदिनु,पुस्तकका गाता उधारिदिनु जस्ता यातना त फूलकुमारीले कति सहिन्, सहिन् । आफूलाई कुटेकाे भन्दा पनि कापी,पुस्तक च्यातिएकाे पीडाले उनी ज्यादा रुने छट्पटाउने गर्थिन् । शिक्षकलाई भन्न गएपनि मनसाकाे बाबु र दाजुहरुकाे डरले केही गर्दैनथे । साथीहरु पनि याे लफडामा फस्न चाहँदैनथे । उनी सहन्थिन, सहन्थिन र अतिभएपछि किताब बाेकेर अर्काेतिर बसेर पढ्न थाल्थिन् । त्यसले फूलकुमारीमा धैर्यता,सहनशीलता र संयमशक्तिकाे विकास गरेकाे थियाे । एकदिन यी अन्यायीलाई न्याय दिन सकूँ उनकाे प्रार्थना यही थियाे ।
उनी मेहनतले नियमित प्रथम भइरहिन् । चित्रकला,कविता लेखन,भाषण जस्ता कार्यक्रममा पनि प्रथम हुन्थिन् । यसले ती मनसामा ईर्ष्याकाे भाव झन बढ्याे र माैका खाेजी खाेजी अनेक तरहले दु:ख दिन्थिन् । उनमा रुप र धनकाे घमण्ड थियाे । अब्बल,व्यापारीकी छाेरी कक्षा८ सम्म जिनतिन पढिन् र कक्षा ९मा छाेडेर गाउँकै कान्तारामकाे छाेरासँग भागेर विवाह गरिन् । बर्सेनि सुत्केरी भएर तीन तीन बच्चाकी आमा हुँदा उनकाे रुपकाे घमण्ड हरायाे , आर्थिक हैसियत कम भएकासँग बिहे गरेपछि धनकाे घमण्ड पनि सकियाे । गाउँमै सानाे पसल थापेर दुखजिलाे निर्वाहा त भयाे तर कुपाेषणले छाेराछाेरी निदाैरा भए , बेलाबेलामा बिरामी भइरहे । । निकै हण्डर पाइन् ।
यता फूलकुमारी कक्षा १२मा जिल्ला प्रथम भएर चिकित्सा विज्ञान पढ्न छात्रवृत्तिमा भारत पुगिन् । उनका बाबा आमा पनि गाउँबाट बसाइँसराइ गर्दै बजार छेउमा छाप्राे हालेर बस्न थाले । ५ बर्षपछि फूलकुमारी भर्खर खुलेकाे अस्पतालकी डाक्टर हुन आइन् । त्यतिबेलै मनसाकी कान्छी छाेरी निकै बिरामी परिन् । कान्छी छाेरीकाे नाम फूलमाया थियाे मनसा रुँदै अस्पताल पुगिन् । टिकट काटिन् र जँचाउन लाइनमा बसिन् । उनकाे पालाे नआउँदासम्म पर्खिरहिन् । जब पालाे आयाे मनसा भित्र पसिन् ,त्यहाँ सेताे गाउन भिरेकी दुब्ली भर्खरकी डाक्टरले राम्ररी जाँचेर ओखतीमुलाे दिइन् । कुन ओेखती कतिबेला खाने समय पनि राम्रोसँग सम्झाएर पठाइन् । मनसालाई ती भर्खरकी केटी डाक्टरलाई कता कता देखेजस्ताे ,बाेली पनि सुनेजस्ताे लाग्याे । ढाेकानेर पुगेर अनुहारमा पुलुपुलु हेर्न थालिन् , अहँ कति सम्झन खाेजे पनि दिमागमा चढेन । । उता छाेरी आमा भाेक लाग्याे ,आमा भाेक लाग्याे भन्दै पिरिरहेकी थिई । यता आमालाई ती भर्खरकी नवाैवना डाक्टर काे रहेछ भन्ने काैतुहलताले एकाेहाेराे बनायाे । बिरामीहरुकाे ओहाेर दाेहाेर चलिरहेकाे थियाे ढाेकामा एकाेहाेरिएर हेरिरहनु पनि शाेभादयक भएन उनी बाहिर निस्कन लागिन् । त्यतिबेलै डाक्टरले छाेरीलाई बाेलाइन् फूलमाया ?लेऊ ।
छाेरी झसङ्ग भइन् डाक्टरकाे हातमा ठूलाे बिस्कुटकाे प्याकेट थियाे । फूलमाया खुर्रर दकुरेर बिस्कुट समाउन पुगिन् । डाक्टरले छाेरीलाई अँगालाे हालेर कुर्सीबाट उठिन् । मेडिकल कम्पनीहरुले दिएका दुई बुक सेता कापी र केही पेन्सिल मुठी पारेर ल्याइन् । फूलमायाका हातमा ती चिजदिंदै डाक्टरले भनिन् "मनसा तिमीले मेराे धेरै कापी र किताबहरु च्यातेकी छाै । यी छाेरीका लागि दिएकाे त नच्यात्नु है" भन्दै छाेरी र कापीकलम थमाएर फेरि बिरामी जाँच्न कुर्सीमा बस्न आइन् । मनसाका आँखा ढाेकामाथि राखिएकाे नामपाटीमा प-याे त्यहाँ लेखिएकाे थियाे - डा.फूलकुमारी ।
मनसाका दिमागमा के कुरा खाेल्याे कुन्नी ? आँखाले निकैबेर झिमिक्क नगरी त्यही नामपाटी हेरिरहे । उनका सफेद गालाबाट खुर्ररर्र दुई थाेपा आँसु गुड्दै त्यही नेमप्लेटमुनि खसिहाले । किन हाे कुन्नि गाेडा त्यहाँबाट चल्नै मानेनन्, निकैबेर उभिइरहिन् र फूलकुमारीलाई एकटकले हेरिरहिन् ,हेरिरहिन् । उनकाे गालाबाट गुडेका आसुले जमिनमा सायद आफ्नै खेर गएका जिन्दगीका विषयमा पश्चातापका कथा लेखिरहेका थिए ।
। काठमाडौं तिखिदेवल ।
२०८१ फागुन १६
0 comments:
Post a Comment