आदिम भाेक
डा.नवीनबन्धु______________________________
सर्वभक्षी काल आइरहेकाे छु
भन्दिनु सहरतिर ,गाउँतिर
मसँग लामाे समयकाे भाेक छ
म समय भाेक हुँ
उलट पुलट भइदिन सक्छ दुनियाँ !
भाेककाे ताकत
आगाे र आँधी पचाइदिन सक्छु ।
भन्दिनु पहरा छहरा र पत्थरहरुलाई
जाे आफू पत्थरकाे सालिकमा
कमलकाे मुटु लिएर बाँचिरहेकाे अभिनय गर्छन्
सिसाका घरमा बसेर भाेकलाई पत्थर फ्याँकिरहन्छन्
भयङ्कर भुईँचालाे हुँ र आइरहेकाे छु उसकैतिर ।
सधैं एकनास हुन्न भन्दिनु
साेझाे मैदान कुल्चिरहने
अघाेरी पहाडलाई पनि
उसकाे उचाई पहि-याएर
बिलिन बनाउने म पहिराे आइरहेकाे छु ।
नाङ्गा अङ्गका तर्तरि पसिनाकाे आहाल
निचाेरेर
सहरमा जमिरहने मैला पाेखरी रित्याउन
म आइरहेकाे
म बाढी हुँ ।
खबर गरिदिनू
भ्रमकाे बाह्रमासे बतास ओकलिरहने वर्तमानलाई
म आँधि आईरहेकाे छु र उसकाे जरा उखलेर
हस्ताक्षर गर्न आतुर छु
जसले निलिरहेकाे छ फूलकाे सौन्दर्य ।
निलिरहेकाे छ काेपिलाकाे आगत बैंस
रित्याइसकेकाे छ आमाकाे काख
बुत्याइसकेकाे छ बाबुकाे सपना
पचाइरहेकाे छ सिङ्गै वर्तमान
र अट्टाहस गरिरहन्छ
दर्प छ आफूभन्दा शक्तिशाली काेही नदेख्नुकाे
म आइरहेकाे छु
अनन्त क्षुधा र प्यास बाेकेर।
पख म आइरहेकाे छु
एक अबिछिन्न गति हुँ
जसले आजसम्म सन्तानका सपनाहरु निले
तिनका सम्भावना र भविष्य निले
निलिरहेका छन् मेरा बैशालु वर्तमान
आमाकाे आँसु
बाबुका पसिना
जम्मै जम्मै निल्ने
तिनलाई निल्ने क्षुधा बाेकेर
आइरहेकाे छु ।
भाेकाे छु,तृषित छु ।
म आदिम भाेक हुँ
भाेकाे कलम हुँ
मसी निख्रिएकाे कलममा
आजसम्म रित्तिएकाे
पसिनाकाे मसी भर्न आइरहेककाे छु ।
अक्षर आवास धादिङ्
0 comments:
Post a Comment