कथा फूल बेच्ने चाँदनीले जहाज उडाई

फूल बेच्ने चाँदनीले जहाज उडाई

    उसको नाम चाँदनी राय  हो । ऊ भारतको वनारस छेउको असीघाट नेर बस्थी । उसका बाबा छैनन् । आमा, दुई ठूला दिदी र एउटा भाइ पनि छ । बाबालाई हिन्दू मुस्लिम दङ्गामा धर्मका नाममा पापीहरुले छुरा हानेर मारिदिए । बाबाको हत्यापछि आमा एक्ली हुनुभयो । रात हामीले नदेखिने गरेर धेरै रुनुभयो। मैले के गरेर यिनीहरुलाई पाल्ने होला भन्नुहुन्थ्यो। अन्त्यमा छोराछोरी पाल्नकै लागि उहाँले यो पसल गर्नुभएको थियो।

उबेला बाबाले ट्याक्सी चलाउनु हुन्थ्यो। 
बाबा नभए पछि चाँदनीका धेरै सपना टुटे। नभए त ऊ पनि राम्रो र ठूलो स्कुलमा पढ्न पाउँथी । टिफिन बक्ससहितको झोला भिरेर विद्यालय जान्थी । कहिले कहिले बाबाको ट्याक्सीमा चढेर घुम्न पनि जान्थी । केही वर्ष अगाडि बाबा गुमाएकी चाँदनीले अब आमालाई फूल पसलमा सघाउने भएकी थिइन् ।
   चाँदनीका खेतबारी छैनन् । खेतबारी भए आफै रङ्गी बिरङ्गी फूल खेती गर्न हुन्थ्यो नि हगि आमा चाँदनी बारीभरी फूलहरू रोप्ने सपना देख्थी । फूल उसलाई चौपट्ट मन पर्छ पनि ।
राम्रा राम्रा र ताजा फूल बेच्न ल्याएको बेला कहिले कहिले भँमरा पुतली र मौरीहरु आउँथे , फूलमा डुल्थे । चाँदनीलाई रिस उठ्थ्यो र धुलो हटाउने कुचोले लखेट्थी । भँमरा, पुतली र मौरीहरु उड्थे। आकाशमा कता कता हराउँथे । चाँदनीलाइ पनि तिनकै पछि पछि उड्न मन लाग्थो । ऊ आमालाई भन्थी आमा म पनि आकाशमा उड्न चाहन्छु नि । भँमरा जस्तो मान्छे किन उड्न नसकेका होलान् ?  ! आमा भन्नुहुन्थ्यो - बौलाही मान्छे पनि उड्न सक्दछन् त ? मान्छेका उड्ने पखेटा भगवानले खै बनाइदिएका र !
      चाँदनीलाई लाग्यो - हो मान्छेका पनि पखेटा भएका भए पापीहरूले मेरो बाबालाई मार्न लागेका बेला बाबा भुर्रर उडेर जानुहुन्थ्यो होला हगि आमा ! चाँदनीले फेरि आमाको दिलको घाउ बल्झाइदिई । आमाले पछाडि फर्किन र आसु पुछिन् । आमा बोल्न सक्नुभएन । आमा विश्वनाथ तिर फर्कनु भयो । सायद आमाको मौनतामा यही प्रश्न थियो त्यतिखेर तिमी किन मौन भयौ ! विश्वनाथ ?
   चाँदनी भन्थी - हामीलाई नाघेर जाने जहाजहरू त उडिरहेकै छन् त आमा हामी त्यसरी उड्न सक्दैनौ र ?
आमा भन्नुहुन्थ्यो - १२ कक्षा राम्रो अङ्क ल्यार पास भएपछि सरकारले गरिबका छोरीलाई जे चाह्याे त्यही पढाइदिन्छ । पैसा पनि दिन्छ ,अनि त ठूलो मान्छे पनि हुने र उड्न पनि पाइने । त्यसरी पढिस भने उड्न पाइन्छ नि । तर हामी गरिपको भाग्यमा कहाँ त्यस्ताे लेखेको छ र बाबै । 
चाँदनीको सानो दिमागमा लाग्यो भगवानले धनी र गरिब छुट्याउँदैनन् । मिहिनेती ,इमानी र ज्ञानी भए भगवानले पनि सपना पूरा गर्न आशीर्वाद दिन्छन्- उसले मन मनै विश्वनाथ बाबालाई ढोगिदिई र भनी_ बाबा मलाई जहाज उडाउन शक्ति दिनुहोस्!
   चाँदनीले त्यसपछि आफ्नो पसलमा आएका भँमरा, मौरी र पुतली 🦋 धपाउन,लखेट्न  छोडिदिई । बरु भन्थी मलाई पनि तिमीहरु जस्तो उड्ने बन्नुछ तिमीहरुकै साथी हुनु छ ।
कक्षामा चलाख विद्यार्थी भन्छन् चाँदनीलाई। गीत गाएर पुरस्कार ल्याएकी छे । कहिले कहिले ग्राहकहरुलाई विश्वनाथ बाबाका भजनहरू सुनाइदिन्छे र थप पैसा पनि पाउछे । त्यसैभएर आमाले उनलाई पसलमै बसिदिए हुन्थ्यो भन्नुहुन्छ तर ऊ विद्यालय छुटाउँदिन ।
        ऊ फूल पसलमा पनि कापी किताब ल्याउथी , ग्राहकहरु नभएको बेला गृहकार्य गर्थी,पाठहरु लेख्ने र पढ्ने गर्दथी । चित्र खुब बनाउने गर्दथी  ।चित्र बनाउँदा पनि कि अनेक जहाजको र फूलबारीकै बनाउँथी ।
  नभन्दै ऊ १२ कक्षामा पुगी । जाँच दिइ र पूरा भारत जितेर प्रथम भई ।
    उसका अगाडि भारतका अनेक मिडिया अन्तर्वार्ता लिन आए । उसले भनि म पाईलट बनेर आकाशमा जहाज उडाउन चाहन्छु।
भारत सरकारद्वारा दिइने गरिब जेहेन्दार छात्रवृत्ति पाएर उसले पाईलट अध्ययन गरि
   आज विश्वनाथको सहरदेखि पशुपतिनाथको सहरसम्म उसको पहिलो उडान छ । उसको जहाजलाई फूलले सजावट गरिएको पनि छ । त्यहाँ  मौरी र भ्रमरहरु पनि छन्  उसले लखटेकी छैन । सोच्छे - यिनीहरू पनि मसँगै आकासमा उडून् । यिनीहरूलर नै मलाई आजको सपना देखाएका हुन् । धन्यवाद प्रिय मौरी,भ्रमर र पुतली 🦋 साथीहरु, !
‌ माला लगाएर चाँदनी पाइलट सिटमा छिन् बिस्तारै इन्जिनको साँचो चलाएर उडान प्रारम्भ गर्छिन । पङ्खाहरु घुम्न थाल्छन् ,जहाजले आकासमा गति लिएर उड्न लाग्छ । आमा, भाइ र साथीहरु एकोहोरिएर माथि हेरिरहन्छन् ।
    छिमेकी पसले दाजु भन्छन्  - फूल बेच्ने चाँदनीले आज जहाज उडाउन सकी । गरे के नहुँदो रहेछ र ! सपना देख्न सक्नुपर्छ । उनले फूलमा बसेका पुतली र माहुरी धपाउन लागे जसलाई चाँदनी फूलमा बसिरहोस् भन्थी ।
       २०८१ । ०९ । २३ वाराणसी। 

डा. नविनबन्धु पहाडी (दाहाल)

0 comments:

Post a Comment

 

नविनबन्धु पहाडी (दाहाल) का साहित्यिक चौतारी