डा. नविनबन्धु पहाडी (दाहाल)
दर्ज्यु संलाप; रैथाने माेहकाे वकपत्र
डा.नवीनबन्धु पहाडी
कुमारी लामासँगका स्मृतिकाे पलट
कुमारी लामालाई नजिकबाट चिन्दिन र जति अक्षरहरुबाट चिन्न खाेजिरहेकाे छु । यसाे भनाैं कि कुमारीसँगकाे मेराे परिचय अलिकति देखादेखकाे धमिलाे मात्रै हाे । टेलिफाेन वा अनलाइनमा केही पटक सम्वाद भयाे कि सम्झना कम छ ।एउटा लेखककाे हिसाबले म उनलाई उदाउँदी अक्षरकर्मीकाे रुपमा बुझ्न थालेकाे छु । मलाई उनी जान्दछिन् वा जान्दिनन् याे बुझ्ने सराेकार पनि रहेन । अक्सर राजधानी केन्द्रित जीवन घिसारिरहेकाहरु माेफसलतिरकालाई रैती र आफूलाई जङ्गबहादुर ठान्ने मध्यकालीन मानसिकताबाट उठ्न नसकेका नेपाली लेखकीय चरित्र बाेकेरै बाँचिरहेका छन् । कुमारी त्याेभन्दा पृथक रहून् याे शुभेच्छा छ । याे पनि थाहा कि सिधा अक्षरहरु कहिले कहिले केही हुरीले दायाँ वा बायाँ ढल्केपछि समुन्द्री छाल जस्तै गर्जन थालिहाल्छन् र मेराे अस्तित्व मुलधारकाे हाे दायाँ बायाँ भङ्गालाेतिरकाे हाेइन भन्ने बिर्सिदिन्छन् । लेखनमा तटस्थता ,निस्पक्षता र सपाट दृष्टिकाे दुर्लभता भएकाे याे समय कुमारी लामाकाे व्यक्तित्व र उनका सिर्जनालाई मैले दुर्लभ मध्येकाे एउटा धराेहर आँकलन गर्न सकियाेस् भन्ने लाेभ पालेको छु ।
कुमारीले बिर्सिइन् हाेला ,मैले सम्झिरहेकाे छु - पहिलाे भेटमा उनले सेताे अन्धकार थमाएकी थिइन् र केही पेज पल्टाउने बित्तिकै टिप्पणी गरेकाे थिएँ कि किन सेताे अन्धकार शीर्षक राखेकाे ? यसलाई श्वेत अन्धकार किन नभनेकाे ? अथवा सेताे अँध्याराे किन नभनेकाे ? शब्दस्राेतकाे लय खाेजेकाे थिएँ सायद मैले ! मेराे समालाेचकीय प्रश्न थियाे उनले उत्तर दिन चाहिनन् वा हलुका टिप्पणी ठानिन् । मलाई यही रुच्याे मात्रै भनिन् । प्रश्न मेराे अहिले पनि बाँकि नै छ किनकि मेराे दृष्टिमा ठिमाहा शब्दसंयाेजनकाे शीर्षकभन्दा आलङ्कारिक र मूल शब्दस्राेतबाटै संयाेजन निकाल्दा अनुकुलन हुन्थ्याे मात्रै ।
प्रसङ्ग दर्जु संलापतिर
कुमारी लामाकाे निबन्धचेतकाे वैचारिक धरातल निकै काैमार्यतापूर्ण लाग्छ । पाखा परेका र ओझेलमा परेका क्षेत्रहरुबाट चयन गरेका विषयहरुबाट भरिलाे कथ्यकाे लेप लगाएर उनका निबन्ध खिपिएका छन् हाम्रा नाम्ला दाम्लाका पयाे र डाेक डालाका बुनाेट कसिलाेसँग खिपिएजस्तै । विषयगत अनेकताले भरिपूर्ण ओझिलाे दर्जु संलाप निबन्ध सङ्ग्रहका लागि एक पाठकीय सपाट दृष्टि पस्कन्छु
विषयगत विविधा
दर्ज्यु संलापभित्र समेटिएका अनुभूतिजन्य निबन्धहरु विषयगत विविधाका दृष्टिले फूलबारीमय छन् अर्थात् फरक स्वाद,रङ् तथा फरक शिराबाट उठाइएका विषयहरूका कारण निबन्धकाे चाख र साैदर्य दुबैकाे ओझ बढाेत्तरी भएकाे छ । यसभित्र समाज संवार्ता,सैलानी समय र दृश्यअ(दृश्य) तीन विषय क्षेत्रमा निबन्धकाे मुठा (प्लटिङ) बाँधिएकाे छ र सग्लाे भारी कसिएर बनेकाे छ दर्जु समलाप । यसभित्रका विषाय चयनका वैविध्य पर्गेल्दा समाज संवार्ता भित्र शीर्षकमा खाेकेकामिटार:एक बाडुली ,घराख्यान,काेलिग्राम संवाद लगायत सात मुठाहरुकाे बिटाे कसिएकाे छ ।त्यस्तै सैलानी समयकाे बिटाेमा माझघट्टकाे दुई थुँगा फूल, एक मार्गचित्र आगतकाे लगायत पाँच मुठाहरु समेटिएका छन् र दृश्यअ(दृश्य) भित्र अर्काथरी पाँच पाँजाहरु छन् । यसरी सग्लाे बनेकाे छ दर्जु समलाप र गजबकाे फरक स्वाद दिन सक्छ यसले पाठकलाई । सिङ्गो भारी घाँस बटुल्दा त हुन्छ नि कताकति अनुपयाेगी झारपातहरु ।कहाँ पाइन्छ र सप्पै सप्पै दुदे झार । कहाँ मुठा पार्न पुग्ने गरि पाउन सकिन्छ र बन्साे वा रैथानै दुधकमलहरु ! बेला बेला मिसिन पुग्छन् नानीकाँडा र डेफर काँडाहरु । काँडाहरुकाे काम नै घाेच्ने र बिझाउने मात्रै न हुन् । ढुक्क हुनुपर्छ- यिनले सधै हानी मात्रै गर्दैनन् । पिल्सिएका दर्दहरु पनि निचाेर्छन् । यस विसमालेचनालाई यसै रुपमा लिइनेछ भन्ने अपेक्षा पनि छ । निबन्धले केही नयाँ पक्षहरु दिएका छन् :
'प्रकृतितर्फ फर्क'काे पुनरावृत्त
पछिल्लाे समय मान्छेहरुले रटानन लगाइरहेका छन् कि रुसाेले पहिलाे पटक प्रकृतितर्फ फर्क भनेका हुन् । याे उनकाे महानवाणी हाे तर हजाराैं वर्ष पहिले नै
नदी किनार,वन वाटिकामा दीर्घसाधना गरेर रचेका अरण्यकहरुकाे सन्दर्भलाई कसैले सम्मान गरेर उधृत गर्नै सकेनन् । रुसाेकाे सम्मान जरुरत हाेला तर अरण्यकहरुकाे अपमान भएकाे कसैले देखेन त्यसैले यश सङ्ग्रहभित्रका कतिपय निबन्धमा आफ्नै प्रकृतिकाे ज्ञान,खाेज र प्राकृतिक जीवनशैली हराउँदै गएकाेमा चिन्ता व्यक्त गरिएकाे छ "गाउँमा प्रत्येक वर्ष नयाँ धानकाे बीउ पस्छ।कहिले राधा-७त कहिले सावित्री ।गाउँ नै मगमग बसाउने पाेखरेली धानकाे नानिसाना छैन गाउँमा ।अहाे समय कता बगिसक्याे । कहाँपुगे हाेलान् हाम्रा पुर्खाले जाेगाइ ल्याएकाे रैथाने बीउ ।"
(घराख्यान)
घामकाे किरणसँग ठाेक्किँदाकाे चमक, बतासकाे गतिमा तरङ्गित हुँदै फैलिने मसिना लहरहरु । आहा ! क्या सुन्दर । (माझघट्टका दुई थुङ्गा फूल )
मत्स्यपुराणमा भनिएकाे छ कि दस कुवा बारबरकाे एक पाेखरी ,दस पाेखरी बराबरकाे एक सराेवर र दस सराेवर बराबर एक छाेरा र दस छाेरा हुर्काए बराबर बिरुवा लगाएर हुर्काएकाे पुण्य प्राप्त हुन्छ भनिएकाे छ । त्यही शैलीमा नभए पनि प्रकारान्तर भावऐक्यता उनका निबन्धात्मक अभिप्रायमा
कुँदिएका छन् ।
सुख, दु:ख मनका अनुभूति न हुन् आखिर किन आत्तिनु ?
कुमारीले निबन्धमा मूल परिलाएकाे विषय नै जीवनका आकस्मिकतालाई भाेग्नु नै हाे । सुख वा दु:ख अनुभूतजन्य हुन् र सापेक्षमा हेरिनु पर्छ भन्ने तर्क उनले दिएकी छिन् । हाम्रा पुर्खाहरुले सिर्जेका रैथाने ज्ञान "हिंड्दा,ठेस लाग्नु,नुहाउदा केस झर्नु,काम गर्दा पसिना आउनु त सफल हुने लक्षिन हाे बाबै" यसैकाे सेराेफेराेमा जीवनलाई आत्मसात गर्नु मै जीवन उनका निबन्धले देखेका छन् ।"काे छैन र पीरमा ! हेर्दै बुझ्दै जाँदा कति हाे कति कथाव्यथा ।हामी सबै भित्र छन् पीडाकाे सिङ्गै पहाड ।"
(दृश्य-दृश्यांश)
उसले आसुलाई शक्तिमा परिणत गर्ने निर्णय लिई । ऊ भिन्न यात्राकाे सुरुवात गर्ने जमर्काेमा लागी । ........महिलाहरु त्यस उज्यालाे यात्राकाे सहयात्री भए ।
( आगाे बाेकेर मनमा )
यसरी हाम्रा स्थानीय ज्ञान र अनुभूतिका रैथाने चेतलाई निबन्धहरुले सूक्तिमय तरिकाले प्रस्तुति दिएका छन् । याे उनकाे निबन्धकाे एउटा बलियाे आधार पनि हाे ।
जीवन यात्राकै भङ्गालाे
यात्रा मान्छेकाे भ्रुणअघिबाटै त प्रारम्भ हुन्छ र जीवन रेखाकाे त्यान्द्राे नचुडिउञ्ज्याल तन्किरहन्छ फरक रफ्तार,चेत र भङ्गालाहरुमा हेलिंदै हेलिंदै । जहाँ रेखाकाे पूर्णविराम लाग्छ अनि सकिन्छ सम्पूर्ण खेलहरु र भनिन्छ लेखान्छ अन्त्य भयाे । याे हाम्रा समाजमा प्रचलित जीवन यात्राका कहावत हुन् ,बिम्ब हुन् वा भन्ने गरिएकाे जीवनकाे परिभाषा पनि ।
थाहा छैन जीवनलाई कसले यात्राकाे अर्थमा गाँसिदियाे ।
याे पनि थाहा छैन जन्म र मृत्युलाई कसले लेखान्त भनिदियाे ।
अथवा याे पनि बताउन सकिन्न कि जीवनलाई कसले रेखा भनेकाे हाे ।
त्यसैले त हाम्रा यी साहित्यमा जीवनका बिम्ब भैदिए । अलङ्कार बनिदिए । रैथाने ज्ञानका स्राेत बिनिदिए र कुमारीले चुनिचुनीकन निबन्धमा यसरी थपक्क सजाएकी छिन् ।
"एक बाैलठ्ठीपनले धकेलेथ्याे सायद यस यात्रामा । लाग्छ डुल्न खाेज्ने मनलाई पनि के अचेट्नु ? छाडिदिनुपर्छ फुक्काफाल। जाओस जहाँसम्म पुग्छ ।"
(न्याेसाङका ढुङ्गे गल्लीहरु)
यसाे नभएकाे भए उसाे नभएकाे भए.......भन्दाभन्दै धेरैथाेक भइसक्छ। यात्रामा ।जीवनमा ।
(माझघट्टकाे दुईथुङ्गा फूल)
धर्म परिवर्तन र पुरुष पीडाका फरक प्रश्नकाे झटाराे
नेपालमा अझै केही समाजिक व्यापारीहरु जातव्यवस्थाकाे नारामा कतै शब्दका व्यापारबाट झाेली भर्ने ,कतै चुनावी ढ्वाङ् भर्ने र कतै आईएन जिओका दैलाेबाट रैथाने ज्ञान,सीप चेतनाकाे दलालीबाट बैक खाता भर्नेहरुकाे लामै लर्काे छ तर उनी यी सब परिवर्तनका साधक वा साध्य हुन् भन्ने कुरामा विश्वास नै गर्दिनन् र प्रश्न गर्छिन्:
के धर्म परिवर्तनले मात्रै जातव्यवस्थावादी सामाजिक मनाेविज्ञानकाे अन्त्य हुन्छ ?( चियाकाे गिलास)
गाउँमा छिरेकाे वर्तमान विकास नभएर विनाश र ध्वंशकाे हावा हुन्छ सक्छ जुन तिलस्मिकाे रुपमा निबन्धमा कुमारीले चित्रण गरेकी छिन् :
अनाैठाे गतिबिधि प्रत्येक गाउँमा छ्यापछ्याप्ति छिरेकाे छ रत्यसले सिनित्तै बढारिलाँदैछ जनजातीय सुवास,संस्कृति र गाउँकाेपुरानाे राैनक । अब लगभग मेटिनै सकेकाे छ संस्कृति,बुँईगल भरिकाे अन्न भण्डार, घाेप्टे ढाेका,लिस्नु ,काठे मचान र पुर्ख्याैली कृषिप्रणाली ।
(खाेकेका मिटार: एक बाडुली )
समानताका लागि उठेका परिवर्तनका धारिला शब्दास्त्र
दर्जु समलापका कतिपय निबन्धका वाक्य वक्यांशहरु प्रतिराेधी चेतले काँडा उमार्ने र पढ्दै जाँदा राै ठाडा बनाउने वीरत्वका लदाबदी छन् । परिवर्तनको नाममा सनातन राजनीतिका व्यापार र साैदाबाजी बिरुध्द उनका निबन्धहरु चाेखा बिद्राेहका साछी नै छन् जस्ताे:
ठीक यही क्षण जम्जमाइरहेका छन् सुना काकीका हात ।माझ्नका निम्ति नभइ झड्याम्म फुटाउन -भर्खरै आफैंले पिएकाे चियाकाे गिलास !
( चियाकाे गिलास)
थेवाकाे प्रश्निल कविताकाे गुन्जहाटसँगै मभित्र उद्विग्नताकाे लहर नभइ आगाे दन्किन्छ आगाे ।
(दर्ज्यु समलाप)
तर आगाे एकातर्फबाट मात्रै फुक्न लागेमा समाधान हुन्छ कि समस्या ? प्रश्न अनुत्तरित छ र कुमारी आगाे फुक्न सजिलाे निभाउन गाह्राे हुन्छ र हिजाेकाे डसाइले प्रतिराेध आाजकाहरुसँग लिन सिकाउनु हुन्न बरु आगाेलाई ऊर्जामा रुपान्तरण गर्ने पध्दतिहरु खाेजाैं पनि भन्न चाहन्छु ।
दर्ज्यु समलापसँगै स्थापित कुमारीकाे निबन्धकारिता
नेपाली निबन्धमा कुमारी लामाकाे उपस्थिति हस्तक्षेपकारी भएकाे छ र एक बागी लेखिकाकाे वकपत्रकै रुपमा प्रस्तुत कृतिकाे उदय भएकाे छ । शैली संरचनाका दृष्टिले उनी नाटकीय वा आख्यानात्मक निबन्धकारकाे परिचयमा अब्बल हुन सक्छिन् । समयले उनकाे निबन्धकारितामा अझै निखार,अझै परिस्कार ,अझै साझा र सामयिक हुँदै जानेछ । कुमारीसँगै नेपाली निबन्धले नयाँ क्षितिज,नयाँ गन्तव्य र नयाँ क्षेत्रकाे पहिचान बनाउने निश्चय छ भन्ने पर्याप्त आधारहरु उनका प्रकाशित दुई निबन्ध सङ्ग्रहले दिइसकेका छन् । उनका सिर्जनात्मक छहराहरुबाट नियमित बागी र काेल्टे तर्कहरु मात्रै आउने छैनन् भन्ने अपेक्षा पनि गराैं । आँसु,पीडा,कहर र दर्दका कथाव्यथा त लेख्नै पर्छ,कुमारी लामाका निबन्धमा स्पष्ट र निर्भीकतासाथ लेखिएकै छ । याे गजब र उज्यालाे पक्ष नै हाे । नेपाली समाज यी र यत्ति मात्रै हाे त ? अवश्य हाेइन । नेपाली समाजकाे इतिहासकाे गाेरेटाेमा अँध्याराे पक्षमात्रै छ त ? उज्यालाे गाेरेटाे हुँदै नभएकाे हाे र ? उनका निबन्धहरु पढ्दा लाग्छ अँध्याराका जङ्घारहरु मात्रै थिए कि क्या हाे ? अत्यसिला ती जङ्घारहरु तरेर कसरी आइएछ त यहाँसम्म ? एक अँध्याराेकाे अतेस र त्यसकाे लामाे फाटक टाँगिन्छ कुमारीका निबन्धहरु पढिसक्दा ! त्यसैले उनका निबन्धमा सपाट साझा सत्य पनि दृष्टिपात भएर आउनेछ भन्ने अपेक्षा गराैं । उनकाे निबन्ध उठानकाे विल्कुल पृथक शैली छ र चित्ताकर्षक ढाँचा छ । विचारहरुकाे चाैतारीकाे रुपमा उनले निबन्धकाे बगाइलाई पनि फुक्काफाल छाडिदिएकाे अनाैठाे शैली पनि रहरलाग्दाे पाठकले महशुस गर्नेछन् ।
बौध्द दर्शनप्रतिकाे आस्था ,रहस्यहरुप्रतिकाे झुकाव र स्वतन्त्र उडानकाे रुमानेली छिपछिपे प्रभावले उनका निबन्ध चटपटे स्वादकै छन् र रैथाने विचारहरुकाे अधिवाचन यसकाे मूल अभीष्ट देखिन्छ ।
अक्षर आवास धादिङ्